झापा, असोज २४ । फुटबल खेलमा प्रशिक्षक बन्न इच्छुक युवाहरुलाई लक्षित गरी झापामा बुधबारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।

झापा जिल्ला फुटबल संघ र एन्फाको संयुक्त आयोजनामा अर्जुनधारा ९ स्थित सुखानी सहिद स्मृति पार्कको हलमा कोर्स सुरु भएको हो । एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालले उद्घाटन गरेका छन् । नेपाली फुटबलको विकासमा टेवा पुर्याउँदै योग्य खेलाडी र असल प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले कोर्सको आयोजना गरिएको संघका झापा अध्यक्ष भगिरथ आले मामाले बताए । बालबालिकालाई फुटबलप्रति प्रेरित गर्न पनि कोचिङ कोर्स प्रभावकारी हुने बताउँदै उनले यस कोर्स लिएको एक वर्षपछि एन्फाको सी लाइसेन्स कोर्स लिन सकिने पनि जानकारी गराए ।

संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनेष दाहालले स्वागत गरेको कोर्षमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनुषा, चितवन र सशस्त्र प्रहरी बलका ४२ जना सहभागी छन् । जसमा ३ जना महिला रहेको संघका सचिव शेरबहादुर बस्नेतले जानकारी दिए । चार दिने कोर्समा एन्फाका हेड अफ कोच एजुकेशन सञ्जीत सिंह र एक्टिङ टेक्निकल डाइरेक्टर हरि खड्काले सहजीकरण गरिरहेका छन् ।

यसअघि पनि झापा जिल्ला फुटबल संघले चार वर्षअघि कोचिङ कोर्सको आयोजना गरेको संघका कोषाध्यक्ष भेषराज लिम्बूले बताए । उनका अनुसार उक्त कोर्समा ३३ जना सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्