झापा, असोज २४ । शिवसताक्षी ४ मा रहेको सौर्य ऊर्जा परियोजना झापा इनर्जीले अबको डेढ महिनापछि विद्युत् उत्पादन शुरु गर्ने भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/10/387334398_563219929267609_5909771564696576904_n-1024x461.jpg)
सोलार प्यानल आइसकेकाले अनलोडिङ र टेस्टिङ गरिसकेपछि विद्युत् उत्पादन गर्न शुरु गरिने प्रवन्ध संचालक सुवास भट्टराईले बताए । उनले चार वर्षअघि नै परियोजना शुरु गरेपनि कोरोना महामारी, जग्गा व्यवस्थापनलगायतका विविध समस्याका कारण ढिलाई भएको बताउँदै नेपाल सरकारसंग गरिएको पीपीए संझौताअनुसार डेढ महिना ढिलो विद्युत् उत्पादन गरी वितरण गरिने जानकारी दिए । कम्पनीले २५ वर्षका लागि सरकारलाई १० मेगावाट बिजुली बिक्री गर्नेगरी पीपीए संझौता गरेको छ । सौर्य ऊर्जाको प्लान्ट निरीक्षणका क्रममा प्रवन्ध सञ्चालक भट्टराईले पहिलो चरणमा १० कन्टेनर सोलार प्यानल आइसकेको जानकारी दिए । उनका अनुसार जम्मा ३५ कन्टेनर प्यानल आउने छ । ३५ कन्टेनरमा २२ हजार ६ सय प्यानल आयात गरिने भट्टराईले जानकारी दिए ।
झापा इनर्जीका प्रोजेक्ट को–अर्डिनेटर अभिषेख पराजुलीले ५–५ मेगावाट बिजुली उत्पादनका लागि दुईवटा स्वीच यार्ड राखिने बताउँदै इन्भर्टर र ट्रान्समिटर जडानको काम पनि धमाधम भइरहेको बताए । उनले सिभिलतर्फ ९९ प्रतिशत र इलेक्ट्रो मेकानिकतर्फ ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । ‘हामीले सोलार प्यानल पर्खिरहेका थियौं ’ उनले भने,‘ सोलार प्यानल आइसकेपछि अब काम सकिन्छ ।’
उनले सौर्य ऊर्जा परियोजनामा प्यानल राख्ने बाहेकका सबै काम सम्पन्न भइसकेको जानकारी दिए । प्यानल राखिसकेपछि उत्पादन हुने १० मेगावाट बिद्युत् नेपाल विद्युत प्राधिकरणको बुलोचोक ग्रिडमा जडान गरिनेछ । परियोजना निरीक्षणका क्रममा बिर्तामोड नगर प्रमुख एवम् सञ्चालक पवित्रा महतारा प्रसाईले लोडसेडिङका कारण उद्योग धन्दा बिस्थापित हुने अबस्थालाई मध्यनजर गरी सहज र सर्वसुलभ रुपमा विद्युत् आपूर्तिका लागि सो सौर्य ऊर्जा परियोजना संचालन गरिएको बताइन् । कुल ७९ करोड ८० लाख लागत रहेको परियोजनामा सर्वसाधारणको २२ करोड र बाँकी रकम बैंकहरुमार्फत लगानी गरिएको छ । कम्पनीमा ७ सय जनाको सामूहिक लगानी रहेको छ । सो परियोजनालाई सोलार टुरिजम र एग्रो टुरिजमको रुपमा समेत विकास गरिने उद्धेश्य रहेको प्रवन्ध संचालक भट्टराईले जानकारी दिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/10/387322119_624711343068139_3085482533553124375_n-1024x461.jpg)
करिव २५ विगाह जमिन क्षेत्रफलमा सो सौर्य ऊर्जा परियोजना रहेको छ । नेपाल विद्युत प्राधिकरण र झापा इनर्जीबीच विद्युत खरिदका लागि भएको सम्झौता अनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।
आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद संझौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक रु १२ करोड ८५ लाख रुपैयाँ आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।