एजेन्सी । कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको छ ।

जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।
यसैक्रममा उनी भारतका लागि विश्वकपमा सर्वाधिक सात शतक बनाउने ब्याटर बने । सचिन तेन्दुलकरले वान डे विश्वकपमा ६ शतक बनाएका छन् ।

रोहितको शतक विश्वकपमा भारतका लागि सर्वाधिक तीव्र गतिको पनि रह्यो । उनले ६३ बलमै शतक पूरा गरेका हुन् र यसक्रममा कपिल देवले सन् १९८३ मा ७२ बलमा बनाएको शतकलाई उछिने । उनले १६ चौका र ५ छक्का प्रहार गरे ।
रोहितले पहिलो विकेटका लागि इसान किसनसँग मिलेर १ सय ५६ रनको साझेदारी गरे । किसनले ४७ रन बनाए । त्यसबाहेक नटआउट दुई ब्याटरमा विराट कोहलीले पनि आफ्नो अर्धशतक पूरा गर्दै ५५ रन बनाए । यस्तै श्रेयर अयरले २५ रन जोडे ।

त्यसअगाडि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । त्यसमा दुई ब्याटरले अर्धशतकीय योगदान दिए । कप्तान हसमतुल्लाह साहिदीले ८८ बलमा ८० रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै अजमतुल्लाह उमरजाईले ६९ बलमा ६२ रन जोडे । उनको ब्याटबाट २ चौका र ४ छक्का निस्केको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्