झापा, असोज २५ । झापामा पहिचानवादीहरूले अढाई दर्जन सवारीसाधनमा तोडफोड गरेका छन्।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार अर्जुनधारा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रमस्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन्।
बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्रीसमेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका १३ वटा चारचक्के सवारीसाधन र करिव १५ वटा मोटरसाइकलमा क्षति पुर्याएका छन्।

युवा नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए। युवा संघका कार्यकर्ता र पहिचानवादी, दुर्गा प्रसाईँ समर्थकबीच हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।

प्रहरीकै सुरक्षा घेरामा युवा नेता बस्नेत कार्यक्रमस्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए। राजधानीको एक होटेलमा बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए।

प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए। प्रसाईँको समर्थकसहित पहिचानवादीहरू पनि बस्नेतलाई निशाना बनाउन कार्यक्रम स्थल पुगेका थिए। १३ वटा चारचक्के सवारी र करिव १६ वटा मोटरसाइकलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले तोडफोडमा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्