बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा बिर्तामोड वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–१० ले उपाधि उचालेको हो । उपाधि जितेसंगै बिर्तामोड १० ले नगद १ लाख, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।

बिर्तामोड–१० लाई उपाधि दिलाउन सौरभ लिम्बूले खेल सुरु भएको ५ औं मिनेट पहिलो गर्दै टिमलाई १–०को अग्रता दिलाएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा अन्य कुनै स्कोर हुन सकेन । खेलको ३३ औं मिनेटमा पाल्देन गुरुङले थप एक गोल गर्दै बिर्तामोड–१० लाई २–० गोलको अग्रता दिलाए ।

बिर्तामोड–५ ले भने ४२ औं मिनेटमा एक गोल फर्काउनबाहेक अन्य गोल थप्न सकेन । बिर्तामोड ५ का लागि सुजन वि.क.ले एक गोल गरेका थिए । प्रतियोगिताको उपविजेता बनेको बिर्तामोड–५ ले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ ।

प्रतियोगिताको‘म्यान अफ दी सिरिज’को पुरस्कार बिर्तामोड १० का सौरभ लिम्बूले हात पारे । उनले ट्रफी र नगद १३ हजार १ सय पाए । उनलाई आयोजक समितिको तर्फबाट नगद ५ हजार, जीवन विकास लघुवित्त संस्था बिर्तामोडको तर्फबाट ५१ सय र झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनको तर्फबाट नगद ३ हजार प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगितामा उदीयमान खेलाडीको पुरस्कार बिर्तामोड ५ का बिक्रम तामाङले हात पारे । उनलाई ट्रफी र प्रवासी नेपाली मञ्च न्युयोर्क सिटीका अध्यक्ष सूर्य लिङ्देनले नगद ५ हजार हस्तान्तरण गरेका थिए ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’को पुरस्कार बिर्तामोड १० का अविशेक गुरुङले हात पारे । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई आयोजकको तर्फबाट १५ सय र यूवा व्यवसायी दिपेन चौधरीको तर्फबाट नगद १ हजार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता , उपविजेता टीम र खेलाडीहरुलाई आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्षहरु राहुलकुमार शर्मा र रोहित प्रसाई, आयोजक समितिका उपाध्यक्षहरु सन्तोष गुरुङ र आईतमाया शेर्मालगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए ।

बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विशम लिम्बूले संचालन गरेको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र झापा गोल्डकपका अध्यक्ष तथा एन्फाका सदस्य विनोद बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्