बिर्तामोड,कात्तिक २ । दशैको मुखमा आएको सामाजिक सुरक्षा भत्ता वितरणमा बिर्तामोड ७ का वडाध्यक्ष अविरलकृष्ण खरेल आफै खटिएका छन् ।

भत्ता नपाएर दशैमा समस्या नहोस् भनेर भत्ता बाँडन थालेको दिनदेखि उनी आफै लागिपरेका हुन् । जसका कारण सरकारले लक्षित वर्गका लागि उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बिर्तामोड ७ मा सहजरुपमा वितरण भईरहेको छ ।

जेष्ठ नागरिक, बिधवा, एकल महिला, पूर्ण तथा आंशिक अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाका लागि एक्सल डेभलपमेन्ट बैंक गरामनी शाखाबाट कात्तिक १ गते बुधवारदेखि सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । वितरण कार्य भोलि शुक्रवारसम्म रहने वडाध्यक्ष खरेलले जानकारी दिए । भत्ता लिनेहरुका लागि वडा कार्यालयले सहजीकरण गरिरहेको छ । वडाध्यक्ष खरेलसंगै वडा सदस्य हिमलता विश्वकर्मा, स्वयम्सेवक चन्द्रमणि खरेल, युवराज निरौला र कुवेरप्रसाद कोइराला पनि भत्ता लिन आउनेहरुको सहजीकरणका लागि खटिएका छन् ।भत्ता वितरण कार्यमा कुनै असहजता नहोस् भन्ने उद्धेश्यले विगतदेखि नै स्वयंसेवक राखेर सहजीकरण गर्दै आएको वडाध्यक्ष खरेलले जानकारी दिए । वडा नम्बर ७ बाट खटिएका स्वयम्सेवकहरुले अन्य वडाका नागरिकलाई पनि सहजीकरण गरिरहेको जनाइएको छ ।

अबदेखि वडा नम्बर ७ का टोल–टोलमै पुगेर वडा कार्यालयको सहजीकरणमा बैंकका प्रतिनिधिमार्फत भत्ता वितरण गर्नेगरी एक्सल डेभलपमेन्ट बैंकसंग सम्झौता भएको वडाध्यक्ष खरेलले जानकारी दिए । २ दिनमा वडा नम्बर ७ का करिब आठ सय जनाले भत्ता बुझेका छन् । सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा वितरण हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्