झापा, कात्तिक ५ । हिजो झापाको खुदुनावारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको भोलिपल्ट आज साँझ बाह्रदशी ६ स्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सांकेतिक तस्वीर

साँझ ५.५० बजेतिर बाह्रदशी ६ सिमलचौकस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ११ प ६२२६ नं को मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–०१४प ७६४८ नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा मे ११ प ६२२६ नं को मोटरसाइकलका चालक बाह्रदशी ६ बस्ने ३८ वर्षिय कृष्ण थापाको टाउकोमा गंभीर चोट लागेर उपचारका लागि बीएण्डसी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

दुवै सवारीसाधन र प्र १–०१–०१४प ७६४८ नं को मोटरसाइकलका चालक बाह्रदशी ५ बस्ने देवीप्रसाद प्रसाईलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । ट्राफिक प्रहरीको पहुँच नपुगेको ग्रामीण सडकमा दुर्घटना बढेको छ । चाडपर्वमा सवारी चाप बढेसंगै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्