झापा, कात्तिक ८ । भूटान र चीनबीच सीमा विवादका विषयमा सात वर्षपछि पुनः वार्ता शुरु भएको छ । सन् २०१६ मा रोकिएको सीमा विवादसम्बन्धी वार्ता मंगलवार चीनको बेइजिङमा पुनः शुरु भएको हो ।

सीमासम्बन्धी विवाद समाधानका लागि २५ औं भ्रमणका क्रममा भूटानका विदेश मन्त्री टांडी दोर्जीले चीनका विदेश मन्त्री वांग यीसंग भेटवार्ता गरेका छन् । भेटवार्तामा दुवै देशबीचको सीमा विवाद छिट्टै समाधान गर्ने सहमति भएको छ ।
अंग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचार अनुसार भूटानका विदेश मन्त्रीको चीनको यो पहिलो आधिकारिक भ्रमण हो । यसक्रममा दुवै देशबीच “भूटान–चीन सीमा निर्धारण र सीमांकन” लाई लिएर एक संयुक्त प्राविधिक टोली निर्माण गर्नका लागि “सहयोग सम्झौता” माथि हस्ताक्षर भएको छ । यसै वर्षको अगस्टमा सो सहमति भएको थियो । त्यस विषयमा बैठकपछि एक संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।त्यस अवसरमा भारतका लागि भूटानका राजदूत रिटायर्ड मेजर जनरल वी नामग्याल पनि उपस्थित थिए ।
चिनीया पक्षबाट जारी विज्ञप्तिमा दोर्जी र वांग यीको बैठकका क्रममा वांग यीले दुवै देशले एक अर्काका साथ कूटनीतिक सम्बन्ध कायम राख्ने विश्वास व्यक्त गरेका छन् । अहिलेसम्म संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको कुनै पनि स्थायी सदस्य राष्ट्रसंग भूटानको कूटनीतिक सम्बन्ध छैन ।

चीन र भूटानबीच डोकलाममा सीमा विवाद रहेको छ । डोकलामको स्थिति भारत, भूटान र चीनको ट्राई–जंक्शनजस्तो रहेको छ । डोकलाम एक विवादित पहाडी क्षेत्र हो । जहाँ चीन र भूटान दुवैले दावी गर्दै आएका छन् । डोकलामलाई लिएर भूटानी दावीलाई भारतले समर्थन गर्दै आएको छ ।