झापा, कात्तिक ११ । झापामा गत वर्षको तुलनामा यस वर्षको दशैंमा सवारी दुर्घटना घटेपनि मृत्युदर भने बढेको छ ।

खुदुनावारीमा भएको दुर्घटना

गत वर्षको दशैंमा घटस्थापनादेखि पूर्णिमासम्म जिल्लाभरि ४० वटा दुर्घटना भएकोमा यस वर्ष घटस्थापनादेखि पूर्णिमासम्म २२ वटा दुर्घटना भएका छन् । तर, गत वर्ष ६ जनाको मृत्यु भएकोमा यस वर्ष ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

त्यस्तै गत वर्ष दशैंमा ६२ जना घाइते भएका थिए भने यस वर्ष ३० जना घाइते भएका छन् । गत वर्षको तुलनामा सवारीसाधनमाथिको कार्वाही , मादक पदार्थ सेवन कार्वाही पनि घटेको छ । गत वर्ष १४९९ सवारीमाथि कार्वाही र ६७ जनालाई मादक पदार्थ सेवनको कार्वाही गरिएको थियो । यस वर्ष ११४६ सवारीमाथि कार्वाही र ५७ जनालाई मादक पदार्थ सेवनको कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनका अनुसार गत वर्ष दशैंमा १० लाख २ हजार रुपैयाँ राजश्व असुली भएकोमा यस वर्षको दशैंमा ७ लाख ५४ हजार रुपैयाँ राजश्व उठेको छ ।

ट्राफिक प्रहरीले सकेसम्म दुर्घटना नूनीकरण गर्न खोजेपनि ट्राफिक प्रहरीको पहुँचभन्दा टाढा ग्रामीण क्षेत्रमा यस वर्ष ६० प्रतिशतभन्दा बढी दुर्घटना भएको उनको भनाई छ । खुदुनाबारी , बाह्रदशी, गौरीगञ्जलगायतका भित्री सडकमा भएका दुर्घटनाका कारण मृत्युदर बढेको प्रहरी निरीक्षक न्यौपानेले बताए । दुर्घटना र घाइतेको संख्यामा कमी आएर सवारी र मापसे कार्वाही घट्नु पनि सकारात्मक भएको उनले दावी गरे ।

झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २० वटा ट्राफिक पोष्टहरु रहेका छन् । त्यसमा प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्म कार्यरत छन् । चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार दशैंमा सवै जनशक्ति परिचालन गरिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्