झापा, कात्तिक १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् ।

सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कार्यक्रममा उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपैयाँ थपेर तपाईंकै नाममा गर्दिन्छु ।’

कालापानीको भूभाग नेपालको नक्सामा सामेल गरेपछि तीन वर्षअघि एक भारतीय टेलिभिजनले उक्त अफवाह फैलाएको र पछि माफी मागेर उक्त सामग्री हटाएको उनले स्पष्ट पारे । गल्ती सच्याएपछि मात्रै आफूले उक्त टेलिभिजनलाई अन्तरर्वार्ता दिएको प्रसंग उनले सुनाए ।
‘गलत भयो भनेर सच्याइसकेको कुरा अहिले नेपालमा हल्ला फैलाएको छ । कहिले ओलीको २७ रोपनी जग्गा सिमरामा, ३७ रोपनी जग्गा गठ्ठाघरमा लिएको छ भनेको छ । स्विस बैंकमा पैसा जम्मा गरेको, अनेक ठाउँमा चार–पाँचवटा विशाल घर बनाएको भनेर हल्ला चलेको छ,’ उनले भने, ‘यो सबै नेकपा एमालेलाई कसरी बद्नाम गर्ने भनेर नेतृत्वलाई बद्नाम गर्न खोजिएको हो ।’

त्यस्तै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न कुनै दबाब नदिएको दाबी गरेका छन् । ओलीले विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका हुन् ।

‘प्रचण्डलाई गएर दुर्गा प्रसाईलाई पक्राउ गर्नुप¥यो भनेर बिन्ती बिसाएँ अरे !,’ उनले भने, ‘काटिएर जाओस् शीर बरु त्यस्ताहरूसँग यो शीर झुक्दैन । भोकै मर्छु होला तर लाशका त्यान्द्रा टिप्न जाँदैन ।’ झुटको सहारा लिएर, भ्रम फिँजाएर, जनतालाई अल्मल्याएर भएका कुप्रचार, हल्लाबाट विचलित नहुन उनले कार्यकर्तालाई आग्रह गरे । उनले तथ्य प्रमाणसहित गठबन्धनसँग उनीहरुले गरेका क्रियाकलापबारे बहस गर्न तयार रहेको बताए ।

‘पदमा बस्छु बस्दिनँ बेग्लै कुरा हो, २० वर्ष अझै राजनीति गर्छु । यो देशका प्रतिक्रियावादी शक्तिलाई ठेगान लगाउनु छ,’ उनले भने, ‘म पदमा नबसे पनि पर्तिरबाट साथीहरूलाई अगाडि बढ साथी हो भनेर बल दिन्छु ।’ उनले गण्डकी प्रदेश कमिटीको चुनावमा प्यानल बनाएर प्रतिस्पर्धा गर्दा स्वच्छताको कमी रहेको जनस्तरको टिप्पणी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्