एजेन्सी । दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ मा बुधबार ठूलो अन्तरको जित निकालेको छ ।

लगभग एकपक्षीय खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भएको हो । यो जितपछि दक्षिण अफ्रिकाको सात खेलबाट १२ अंक भएको छ । न्युजिल्यान्ड भने लगातार तेस्रो हारपछि ८ अंकमै सीमित रह्यो ।

यसअघिका दुई खेलमा न्युजिल्यान्ड भारत र अस्ट्रेलियासँग पनि पराजित भएको थियो । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३५.३ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ६७ रनमात्र बनाउन सक्यो । त्यसमा ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४६ रन खर्चेर ४ विकेट लिए ।

यस्तै मार्को जेसनले पनि ३ विकेट हात पारे । त्यस अगाडि क्विन्टन डे कक र रसी भान डे डुसेनको शतकको मद्दतले दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटमा ३ सय ५७ रनको ठूलो स्कोर खडा गरेको थियो । ओपनर डे ककले १ सय १६ बलमा १ सय १४ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे ।

यस विश्वकपमा उनको यो चौथो शतक हो । यस्तै डुसेनले १ सय १८ बलमा १ सय ३३ रन बनाए । यसमा ९ चौका तथा ५ छक्का सामेल थियो । डेविड मिलरले पनि २ चौका तथा ४ छक्काको मद्दतले ३० बलमा ५३ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये टिम साउथीले २ विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्