एजेन्सी । इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको छ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बिहीबार पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको जानकारी दिए। यस्तै घाइतेको संख्या ३२ हजार नाघेको जानकारी उनले बताए।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको उनले दाबी गरे।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रति वर्गकिलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।
जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही शुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्