झापा,कात्तिक २१ । झापामा पहिलो पटक डोरीतान खेलको प्रतियोगिता हुने भएको छ ।

यही कात्तिक २४ गते बिर्तामोड– ३ बिर्ताबजारस्थित अनारमनी पव्लिक क्याम्पसको प्रांगणमा जिल्लास्तरीय डोरीतान प्रतियोगिता हुन लागेको हो । झापा जिल्लाका १५ पालिका , ३ बिभागीय टिम गरी १८ वटा टोलीको प्रतियोगितामा सहभागिता रहने डोरीतान संघ झापाकी अध्यक्ष युनिता दवाडीले जानकारी दिएकी छन् । पुरानो खेल मध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकतासँग जोडिएको खेल भएपनि ओझेलमा परेका कारण त्यसको प्रवर्द्धनका लागि डोरीतान प्रतियोगिता आयोजना गरिएको उनले बताइन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतियोगिता उद्घाटन गर्ने जनाइएको छ ।प्रतियोगिताका विजेताले नगद ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र उपबिजेताले नगद २१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने छन् । आयोजकले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।

प्रथम जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पियनसीप २०८०

         प्रेस विज्ञप्ति 
                                                     मिति २०८०–०७–२१ 

झापा जिल्ला डोरीतान संघ डोरीतान खेलसंग सम्बन्धित झापा जिल्लाभरिका खेलप्रेमी व्यक्तिहरुको संगठित संस्था हो । बिश्वकै प्राचिन खेलमध्येको एक डोरीतान खेल दुई टिमबीच डोरीलाई तानातान गर्दै खेलिने खेल हो । यो खेललाई अंग्रेजीमा tug Of War भनिन्छ । प्रत्येक टिममा ८ जना खेलाडी हुन्छन् । जुन टिमले खेलको नियमानुसार आफूतिर डोरी तान्दै डोरीमा भएको संकेतलाई सम्बन्धित रेखा पार गराउँछ, सो टिमले बिजय हासिल गर्दछ । अन्य देशमा अत्यन्तै लोकप्रिय यो खेल नेपालमा पनि प्राचीन समयबाट खेलिदै आएपनि संस्थागत हुन नसक्दा आधिकारिक नियमानुसार नखेलिने र खेलबाट खेलाडीको भविष्य पनि नहुने भएपछि सन् २००७ मा राष्ट्रिय खेलकुद परिषदको पहलमा यो खेल अन्तर्राष्ट्रिय डोरीतान महासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ दर्ता भएको हो ।
नेपाल डोरीतान संघले नेपालका प्रदेशहरुमा प्रादेशिक कमिटीहरु र नेपालभरिका जिल्लाहरुमा जिल्ला संघहरु गठन गर्दै सो जिल्ला संघहरु मार्फत नेपालभरि यस खेलको प्रवद्र्धन र विकास गर्दै आएको छ । यसै क्रममा बि.सं. २०७९ सालमा झापा जिल्ला खेलकुद विकास समितिबाट पहिचान प्राप्त झापा जिल्ला डोरीतान संघको स्थापना भएको हो ।

झापा जिल्ला डोरीतान संघले झापा जिल्लामा मात्र नभई कोशी प्रदेशभरि नै डोरीतान खेलको विकास गर्न खेलाडीहरु प्रशिक्षण तथा उत्पादन गर्ने, कार्यसमितिका सदस्यहरुलाई अभिमुखीकरण तालिम, प्रविधिक तालिम, डोरीतान खेल प्रतियोगिताहरु आयोजना गर्ने तथा आयोजना गर्न सहयोग गर्ने, प्रदेश स्तर तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा खेलाडीहरुलाई समावेश गराउने आदि कार्यहरु गर्दै डोरीतान खेलको विकासमा टेवा पुर्याउन जमर्को गरिरहेको छ।

स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ, स्वस्थ मस्तिष्कबाट अनुशासित, मर्यादित, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ र त्यसैबाट नै अनुशासित, मर्यादित र दक्ष समाजको निर्माण गर्न सकिन्छ । यसै अनुरुप डोरीतान खेलको माध्यमबाट युवाहरुलाई खेलकुदमार्फत सक्रिय बनाउन तथा डोरीतान खेलको प्रवर्द्धन गर्न झापा जिल्ला डोरीतान संघले यस बर्ष पनि नेपालका बिभागीय टिमहरु, आयोजक टिम, १५ पालिकाका टिम संलग्न गरी जम्मा १८ टिम संलग्न प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसीप २०८० को खेल प्रतियोगिता विर्तामोड नगरपालिकास्थित श्री अनारमनी क्याम्पसको खेलमैदानमा आयोजना गर्न गईरहेको व्यहोरा हार्दिक अनुरोध गर्दछौं ।

प्रतियोगिता सम्बन्धी थप जानकारी

प्रतियोगिताको नामः प्रथम जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पियनसीप २०८०
प्रतियोगिताको किसिम ः अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियमानुसार, नकआउट प्रत्येक खेल बेष्ट अफ थ्रीमा आधारित
प्रतियोगिताका विजेताले ः नगद ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र उपबिजेता पुरस्कारः नगद २१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र
सहभागी टिमहरुः आयोजक टिम, १५ पालिकाका १५ टिम संलग्न गरी जम्मा १८ टिम अनुमानित खर्चः रु.५,०५,०००÷–
संरक्षकः राष्ट्रिय खेलकुद परिषद, कोशी प्रदेश डोरीतान संघ सहयोगी संस्थाहरुः झापा जिल्लाका सम्पूर्ण पालिका, कोशी प्रदेश डोरीतान संघ, मोरङ जिल्ला डोरीतान संघ,
आयोजक
झापा जिल्ला डोरीतान संघ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्