झापा, कात्तिक २१ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्चलाईट वितरण गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज आयोजित एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारलाई १६ थान ट्युवेल र हात्ती प्रभावित क्षेत्रका ११ वटा टोल विकास संस्था र सशस्त्र प्रहरी वेस क्याम गोलधापलाई गरि १५५ थान टर्चलाईट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको मागवमोजिम सभामुख देवराज घिमिरेको पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पुलदेखि दक्षिण वडा नम्बर ७ हुँदै वडा नम्बर ८ देउनिया खोला पुल दक्षिण किसनभिट्टासम्मको करिव १३ किलोमिटर क्षेत्रमा सोलार फेन्सिङ गरिने योजना रहेको जानकारी दिइन् । उनले योजनाको काम तिहारलगत्तै सुरु गरिने तयारी रहेको पनि बताइन् ।

नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङका लागि आवश्यक बजेटको माग गर्दै २०७९ चैत २६ गते राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पत्राचार गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष अविरल कृष्ण खरेलले वडा नम्बर ७ मा हात्ती नआएको दिन नभएको भन्दै वितरण गरिएको लाइटले केहि हदसम्म भएपनि धपाउन सहयोग मिल्ने बताए । आफ्नो वडामा ट्युवेल पनि नभएका घरहरु धेरै रहेकाले २० वटा ट्युवेल बाँंड्ने योजनाअनुसार १६ वटा वितरण गरिएको जानकारी दिए।

वडा कार्यालयले नगरपालिकाको सहयोगमा टर्चलाईट वितरण गरेको हो। कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाई , विशेष अतिथि नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडाध्यक्ष खरेल, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, समाजसेवी केशवराज कार्की, हिमाल सिटौलाले टर्चलाइट तथा ट्युवेल हस्तान्तरण गरेका थिए ।
बिर्तामोड नगरपालिकाका न्यायिक समिति सदस्य खडानन्द निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन युवराज निरौला राजनले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्