झापा, कात्तिक २२ । झापाको शिवसताक्षीमा फेला परेको शवको पहिचान खुलेको छ ।

कात्तिक १० गतेबाट हराइरहेका मोरङ बेलबारीका साजन लिम्बूको शव त्यहाँ फेला परेको हो । शवसंगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरु नआइपुगेकाले शवको पहिचान प्रष्ट भइनसकेको उनले बताए ।

बिर्तामोडमा रहेका आफन्तहरु आइसकेपछि पहिचान गर्ने काम हुने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । शिवसताक्षी वडा नम्बर ११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो शव फेला परेको हो ।

जंगलमा घाँस काट्ने जाने महिलाहरुले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पुरै शरीर सडेको अवस्थामा छ ।
जिल्ला प्रहरीका अनुसार कालो टिसर्ट, कालो जिन्सको पेन्ट, निलो रंगको व्याग फेला परेको छ । व्यागभित्र गाँजा र मदिरा समेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोवाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्