झापा, कात्तिक २२ । नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि झापामा कडा प्रतिष्पर्धा देखिएको छ ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ११–११ जना गरी जम्मा ५५ जना महासमिति सदस्य निर्वाचित हुनुपर्नेमा पाँचवटै क्षेत्रमा गरी ९६ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी क्षेत्र नं ५ मा २१ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं १ मा २० जना , क्षेत्र नं २ मा १८ जना , क्षेत्र नं. ३ मा १८ जना र क्षेत्र नं. ४ मा १९ जनाले उम्मेदवारी दिएका छन् ।

मनोनयन दर्ता गरेकामध्ये ६ जना निर्विरोध चयन भएका छन् । आदिबासी–जनजाति महिलातर्फ क्षेत्र नं १ मा डम्बरकुमारी थापा मगर , २ मा राधा सुब्बा , ३ मा कृष्णकली राजवंशी र ५ मा सीता थेवे निर्विरोध निर्विरोध भएका हुन् । त्यस्तै क्षेत्र नं ३ मा खस आर्य महिलातर्फ सर्मिला अधिकारी र प्रत्यक्ष खुल्ला खस आर्यतर्फ नवीन बिमली निर्विरोध भएका हुन् । ती क्षेत्रमा आदिबासी–जनजाति महिला क्लस्टरमा एक–एकजनाको मात्र उम्मेदवारी परेको हो । त्यस्तै क्षेत्र नं ३ मा खस आर्य महिला र प्रत्यक्ष खुल्ला खस आर्यतर्फ एक–एकजनाको मात्र उम्मेदवारी परेको थियो ।

यसैबीच झापा क्षेत्र नं–२ मा नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि भएको निर्वाचनअन्तर्गत आज मतदान भएको छ ।
मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको मतदानमा १५६ महिलासहित ४९९ जनाले मत हालेको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिए । उनका अनुसार केहीबेर अघिबाट मतगणना शुरु भएको छ ।

प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुनेमा झापा क्षेत्र नं–२ मा आदिबासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भएकी छन् । बाँकी १० जना महासमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई खुल्ला महिलातर्फ तीनजनाको उम्मेदवारी परेको छ । खुल्ला महिला कोटामा उमा शिवाकोटी, चन्द्रकला भण्डारी र सीता पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै ५ जना खुल्ला पुरूषतर्फ ८ जनाको उम्मेद्वारी परेको छ । खुल्ला पुरूषतर्फ कोशी प्रदेश सभापति उद्धव थापा, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, उद्योगी छत्रबहादुर गिरी, सामाजिक व्यक्तित्व जलकुमार गुरूङ, पार्टीका पुराना कार्यकर्ता टीका प्रसाईं, सामाजिक व्यक्तित्व दिपेन्द्रप्रसाद ढकाल, र साहित्यकार तथा पूर्व शिक्षक हस्तबहादुर परियारको उम्मेद्वारी परेको छ ।

त्यसैगरी खस आर्य महिलातर्फ १ जना निर्वाचित हुनुपर्नेमा भुमादेवी घिमिरे र रन्जिता कार्कीको उम्मेदवारी परेको छ भने खसआर्य पुरूषतर्फ अनोजकुमार खड्का र यज्ञप्रताप अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै आदिवासी जनजाति खुल्लामा दिपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएका छन्।

झापाका पाँचवटै क्षेत्रमा निर्वाचन प्रक्रिया अघि बढेको छ । झापा क्षेत्र नं–१ मा खुल्लातर्फको पाँच पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । खुल्लातर्फ केशवराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्गबहादुर धिमाल, पुष्पराज पौडेल, रामबहादुर कट्टेल (राम कट्टेल) पंकजविक्रम नेम्बाङ, विमल आचार्य, अशोककुमार पोखरेलको उम्मेद्वारी दर्ता भएको हो ।
यसैगरी दुई खुल्ला महिला पदका लागि दुर्गा खतिवडा, शोभा श्रेष्ठ नेम्बाङ र उषा गुरुङको उम्मेद्वारी परेको छ ।
खसआर्य खुल्ला कोटामा रोहितकुमार बुढाथोकी र तेजप्रसाद चम्लागाईको उम्मेद्वारी परेको छ । यसैगरी खसआर्य महिला कोटामा सुशिला रिजाल, टिका सुवेदी बराल, चन्द्रकला भट्टराईको उम्मेद्वारी परेको छ । खसआर्य खुल्ला र महिलामा १–१ जना महासमिति सदस्य चयन हुनेछन् ।

यसैगरी आदिबासी जनजाति खुल्लातर्फ १ जना महासमिति सदस्य पदका लागि बालाजित राई र प्रेम सम्बाहाम्फेको उम्मेद्वारी परेको छ । आदिबासी–जनजाति महिलातर्फ भने डम्बरकुमारी थापा मगरको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मतदान भोलि हुनेछ ।

त्यस्तै क्षेत्र नं ३ मा खुल्लातर्फ पाँचजनाको कोटामा १० जनाको उम्मेदवारी परेको छ । टीकाराज ढकाल , ओमप्रकाश सरावगी , मोहन महर्जन , दयानन्द गोस्वामी , बडाराम हेमरम , विजय रिजाल , भगिरथकुमार पोद्धार , गणेश पोखरेल , रामप्रसाद दुलाल र जगत बस्नेतको खुल्लातर्फ उम्मेदवारी परेको हो । त्यस्तै दुई जनाको महिला खुल्ला कोटामा उर्मिलाकुमारी गौतम , लता कार्की र शिला तामाङले उम्मेदवारी दिएका छन् । त्यस्तै खस आर्य महिलातर्फ सर्मिला अधिकारी , आदिवासी जनजाति महिलामा कृष्णकली राजवंशी र प्रत्यक्ष खुल्ला खस आर्यतर्फ नविन बिमलीको उम्मेदवारी परेको छ । तीनैजना निर्विरोध भएका हुन् । त्यस्तै आदिवासी जनजाति खुल्लातर्फ भूमिप्रसाद राजवंशी र गौरव सुब्बाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं ३ मा भोलि मतदान हुने भएको छ ।

त्यस्तै झापा क्षेत्र नं ४ मा महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको छ । यसमध्ये आदिवासी जनजाति महिला कोटामा सीता थेवे निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नं ४ मा खुला ५ कोटामा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका झापा सभापति देउकुमार थेवे, शिवसताक्षी नगरका पूर्व सभापति पर्शुराम ढुंगाना, उत्तम चौलागाईं, किरण भट्टराई र एकराज उप्रेतीले महासमिति सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै सोही पदमा सीताराम भट्टराई, उत्तम सुवेदी, भीम राजवंशी र भक्ति सिटौलाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन परिचालन समितिले जनाएको छ ।

यस्तै खस आर्यको एउटा कोटामा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका स्वकीय सचिव खड्ग कार्कीले उम्मेद्वारी दर्ता गराएका छन् । कार्कीसंगै शिवसताक्षी ८ का चन्द्रमणि नेपालले पनि उम्मेद्वारी दिएका छन् ।त्यस्तै आदिवासी जनजाति एउटा कोटामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । मचिन्द्र शेर्मा र सन्तोषकुमार मेन्याङ्बोले उम्मेद्वारी दर्ता गराएका हुन् ।
खस आर्य महिलाको एउटा कोटामा दुईजना महिला नेतृले उम्मेदवारी दिएका छन् । अन्जु थपलिया र देवीकुमारी ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै महिला खुला दुई पदमा धनमाया चिमरिया, लख्खी गणेश र कविता बस्नेतको उम्मेदवारी दर्ता भएको छ । महासमिति सदस्य पदको निर्वाचन भोलि कनकाई उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै झापा क्षेत्र नं ५ मा महासमिति सदस्य निर्वाचन प्रकृया शुरु भएको छ ।निर्वाचन कार्यक्रमअन्तर्गत खुल्लातर्फका पाँचसहित विभिन्न क्लस्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि निर्वाचन प्रकृया शुरु भएको हो । सो कार्यक्रम सम्पन्न गर्न निर्वाचनस्थल दमकस्थित सरस्वती मावि तोकिएको छ ।

निर्वाचन सम्पन्न गर्न बब्रुवन दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उनका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत पहिलो दिन मतदाता नामावली, उम्मेदवारी मनोनयन दर्तादेखि दाबी बिरोध पेश गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्म सकिएको छ । भोलि बिहान मतदानको कार्यक्रम राखिएको छ ।

त्यहाँ ११ पदका लागि २१ जनाको उम्मेदवारी परेको हो । जसअनुसार पाँच जना खुल्ला सदस्यका लागि १० , खुल्ला २ महिलाका लागि ३ जना, दुई जना खस आर्य (महिला –पुरुष ) का लागि ४ जना र २ जना आदिवासी ÷जनजातितर्फ (महिला– पुरुष ) मा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुल्ला ५ जना सदस्यतर्फ सुरेश सुब्बा,हुकुमसिंह राई, रोहितकुमार साह, सत्यनारायण चौधरी, हेमन्त कार्की, अम्बरबहादुर बराईली, अनिलकृष्ण प्रसाई, मेदनी सिटौला र टिकाराज सापकोटाको उम्मेदवारी परेको छ ।

यसैगरी, दुई खुल्ला महिलातर्फ लक्ष्मी बाह्रकोटी प्रसाई, चन्द्रा खड्का भट्टराई, रेगिना भट्टराई, एक जना खस आर्य महिलामा मन्दरा पौडेल र तुलसा पन्त, खस आर्य पुरुषतर्फ डा. नेत्र बुढाथोकी र विक्रम अधिकारी , एक जना आदिवासी जनजाति पुरुषतर्फ आइन्द्रविक्रम केरुङ र भूमिराज राई तथा आदिवासी जनजाति महिलातर्फ रमा लिम्बू र फूलवती राजवंशीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
२५ जना महाधिबेशन प्रतिनिधिमध्ये चर्चामा आएपनि डा. खगेन्द्रपाण्डव अधिकारी, भूपाल कटुवालले भने उम्मेदवारी दर्ता गरेनन् ।
महासमिति चुन्न १४ औ महाधिबेशनमा निर्वाचित भएका यस क्षेत्रका ७ सयबढी क्षेत्रीय प्रतिनिधि, नगर,गाउँ सभापति, वडा सभापतिहरुले मतदान गर्ने छन् ।
उम्मेदवारका आकांक्षीहरुबीच सामूहिक र अलग अलग भएका छलफलमा समझदारी नहुँदा चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्