झापा, कात्तिक २४ । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतको माग हुने गरेको छ । उनका अनुसार सबैभन्दा पिक माग भनेको एक हजार दुईदेखि एक हजार दुई सय पचास मेगावाटसम्म माग खपत हुने गरेको छ । उत्पादन एक हजार ८०० मेगावाटसम्म भइरहेकाले तिहारको माग पूणर्रूपमा धान्न सक्ने उनको भनाइ छ । प्राधिकरणका प्रवक्ता भट्टराईले भने, “तिहारमा सबैभन्दा बढी माग १२०० देखि १२५० मेगावाटसम्म हुने गरेको छ । विद्युत् उत्पादन क्षमता १८०० मेगावाट भएकाले माग धान्न सकिन्छ । पूणर्रूपमा निर्धक्क भएर बत्ती बाल्दा हुन्छ ।” अहिले दैनिक एक हजार ५० मेगावाट मात्र विद्युतको खपत भएको छ । उनले भने, “प्राधिकरण धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ, तिहार मनाउनका लागि बत्ती बाल्न कन्जुस्याइँ गर्नुपर्दैन ।”घरमा विद्युत् खपत गर्दा उच्च गुणस्तरको एमसिबी प्रयोग गर्न पनि उनको आग्रह छ । धेरै बत्तीको लोडले गर्दा एमसिबी बन्द भइरहने भएकाले यसतर्फ पनि सोच्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्