झापा, कात्तिक २७ । टिकटक बन्द गर्ने सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/10/tiktok.png)
सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले नेपालभरिका इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरिएको बताए । ‘सरकारको निर्णयअनुसार इन्टरनेट सेवा प्रदायकलाई हामीले पत्राचार गरिसकेका छौं,’ उनले भने।
प्राधिकरणले मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई पनि टिकटक ब्लक गर्न पत्राचार गरिएको स्रोतले जानकारी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकले सामाजिक सद्भाव बिथोल्नेगरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेपछि बन्द गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उनले आजदेखि नै टिकटक बन्द हुने बताएकी थिइन् ।