पाँचथर, कात्तिक २८ । साढे एघार फिट लामो टुप्पी भएका पाँचथर फिदिम नरपालिका २ निवासी यामनारायण भण्डारीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

करिब १ वर्षदेखि श्वास प्रश्वास र दमको समस्यासँग जुधिरहेका भण्डारीको हिजो साँझ निधन भएको हो ।
आफूलाई विश्वकै सबैभन्दा लामो टुप्पी भएको व्यक्तिका रुपमा दाबी गर्दै आएका भण्डारीले ४७ वर्षदेखि टुप्पी काटेका थिएनन् । ४७ वर्ष अगाडी बिहानीपख सपनामा आएका गेरु बस्त्रधारी साधुले टुप्पी नकाट्नु र काइयो लगाएर नकोर्नु पनि भनेपछि टुप्पी पाल्न थालेको उनी बताउने गर्थे ।

३३ वर्षअघि घाँस काट्न रुख चढेका बखत हाँगामा अल्झेर उनको साढे पाँच फिट टुप्पी चुँडिएको बताइएको छ ।
लामो टुप्पी भएकै कारण उनलाई चिन्ने जो कोहीले टुप्पी बा र टुप्पी बाजे भनेर चिन्ने गर्थे ।

मेलापात वा उत्सवहरुमा गएका बखत उनको टुप्पी बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले रुचिका साथ हेर्ने गर्थे ।
विश्वमै सबैभन्दा लामो टुुप्पी भएको मान्छे आफू नै भएको दाबी गर्ने उनी गिनिज बुक अफ दि वर्ल्डमा नाम दर्ता गराउने चाहना राख्दै आएपनि उनको धोको भने पुरा हुन सकेन । भण्डारीको अन्त्येष्टि आज तमोर नदीमा गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्