झापा, कात्तिक २९ । महोत्तरीमा गएराति डाका समूह र प्रहरीबीच भिडन्त भएको छ ।

प्रहरीले दुई जना डाकाहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर ल्याउने क्रममा भाग्न खोज्दा भिडन्त भएको हो ।महोत्तरीलगायत मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा चोरी डकैतीलगायतका आपराधिक क्रियाकलाप गरेर फरार रहेका कुख्यात डाकाहरुलाई पक्राउ गरेर ल्याउने क्रममा सोनमा गाउँपालिका ५ मा पुग्दा उनीहरुले प्रहरीमाथि गोली प्रहार गरी भाग्न खोज्दा प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

महोत्तरीका प्रहरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरीका अनुसार कात्तिक २० गते बिहान करिब अढाई बजे भएको डकैतीमा संलग्न सर्लाही लालबन्दी नगरपालिका– २ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई रौटहटको गरुडा नगरपालिका ४ पानी ट्याङकीमा मंगलबार मध्याह्न ३ बजे नियन्त्रणमा लिइएको थियो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिँदा पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ थान बरामद भएको थियो ।

पक्राउ परेका दुवै जनालाई महोत्तरीतर्फ ल्याउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी बिग्रेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सवारीसाधन मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका ५ सम्म राति १० बजे पुर्याएपछि पुनः महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएका व्यक्तिलाई सुरक्षाकर्मीले हाल्न खोज्दा गाडीबाट हामफाली भाग्न खोजेका थिए । प्रवक्ता गिरीले आफ्नो कमाण्डमा खटिएको टोलीले गोली फायर गर्दा दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको जानकारी दिए ।

उनले डकैती आरोपमा पक्राउ परेका दुबै जना भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको र गोली लाग्दा दुवै घाइते भएको र अवस्था गम्भीर रहेको जनाएका छन् । गोली लागेर दुबै घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यसैगरी उक्त घटनामा दुईजना प्रहरी पनि घाइते भएका छन् । घटनामा प्रहरी सहायक हवल्दार संजय जैसवाल र प्रहरी जवान श्याम गिरी घाइते भएको डीएसपी गिरीले बताए ।
गोली लागेका दुवै जनाले गत कात्तिक २० गते बिहान करिब अढाई बजेको समयमा जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको जनाइएको छ ।

महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार पक्राउ परेका डाकाहरु माथि विभिन्न किसिमको ११ वटा मुद्दा चलिरहेको छ । उनीहरुले कात्तिक महिनाभित्र महोत्तरीमा २ ,धनुषामा १ र रौतहटमा १ डकैती र लुटपाट गरेका छन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम उनीहरूलाई सजाय हुने एसपी मल्लले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्