झापा, कात्तिक ३० ।चार देश सम्मिलित ट्वान्टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । खेल बिहान ११ः४५ बजे सुरु हुने छ ।

पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले मात्र सम्झिनलायक खेल प्रदर्शन गरिन् । उनले ४३ रन बनाइन् ।

हङकङमा जारी सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरीयतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्