झापा, मंसिर ३ । खुट्टामा किरा परेर विगत चार महिनादेखि कन्तविजोगमा रहेका एकजना विरामीलाई राजवंशी समुदायले उद्धार गरेका छन् ।

उपचार र स्याहार सुसारको अभावमा देब्रे खुट्टामा किरा परेका बिर्तामोड– १ का ४० वर्षीय बसन्त राजवंशीलाई उद्धार गरी राजवंशी समाज विकास समितिले उपचारका लागि धरान पुर्याएको हो । चार महिनाअघि राजवंशीको देब्रे खुट्टा तातो रडले छेडिएको थियो । सोही घाउ बढ्दै गई उनी थला परेका हुन् ।

घाउमा किरा परेको र गन्हाएर छेउमा जानै नसक्ने अबस्थामा रहेका उनलाई राजवंशी समाज विकास समिति झापा , नगर समिति बिर्तामोड र राजवंशी विकास प्रतिष्ठानको संयुक्त पहलमा रकम संकलन गरी उद्धार गरेर धरान पठाइएको राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले बताए । उनले अति विपन्न अबस्थाका राजवंशीलाई कसैले सहयोग नगरेपछि राजवंशी समुदायले अग्रसरता लिएको बताए ।

राजवंशी समुदायले आर्थिक संकलन गरी बिरामीको परिवारलाई ३० हजार ७०० रुपैयाँ उपलब्ध गराएका छन् । आज बिहान एम्बुलेन्स बोलाई राजवंशीलाई वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको राजवंशी विकास समितिका जिल्ला अध्यक्ष उत्तमकुमार राजवंशीले बताए । उद्धार कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , कोषाध्यक्ष झलकसिंह राजवंशी , राजवंशी विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशी , सचिव सोहनलाल राजवंशी , नगर अध्यक्ष सुमन राजवंशीलगायतको उपस्थिति रहेको थियो । अति विपन्न अबस्थाका राजवंशी टाटीबेरा नभएको घरमा बस्छन् । उनकी श्रीमतीले छोडिसकेकी छन् । छोरी उषाले हेरचाह गर्दै आएकी छन् । उनले आफ्ना बुवाको उपचारमा सहयोग गरिदिन सबैलाई आव्हान गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्