झापा, मंसिर ३ । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना बालबालिका सवार बस दुर्घटना भएको छ ।

सो दुर्घटनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बालकको मृत्यु भएको बताए । धनुषाबाट भ्रमणमा आएको ना ४ ख ८४२४ नं को बस लसुने र अर्याल चौकको बीचमा दुर्घटना भएको हो । बस सडकबाट करिव ३ सय मिटर तल खसेको रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले बताए । उनले आफूहरुले ३२ जना घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’एसपी खतिवडाले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । धनुषाको धारापानीबाट पर्यटकीय जिल्ला इलाम घुम्न आएको टोली फर्कने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका अधिकांश यात्रु घाइते छन् । उनीहरुलाई बिर्तामोडका अस्पतालतर्फ ल्याउने क्रम जारी छ । दुर्घटना ५.१५ बजेतिर भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्