झापा,मङ्सिर ५ । हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने । गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् । गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजरायली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ । बाँकीको सटीक ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ । हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्