झापा,मंसिर ९ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले कृषक, व्यवसायी र उपभोक्तालाई एकै ठाउँमा राखेर समसामयिक विषयमा छलफल गराएको छ ।

कृषि वस्तुको बजारीकरण , सागसब्जीमा विषादीको न्यूनीकरण, ग्रेडिङ तथा प्याकेजिङका विषयमा समितिले एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरी छलफल गराएको हो । फलफुल तथा ताजा तरकारीमा बिषादी प्रयोगका समस्या र बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने वा समाधानका उपायहरु , ताजा तरकारी तथा फलफुलको ग्रेडिङ, प्याकेजिङ तथा लेभलिङको वर्तमान समस्या , त्यसका कमी कमजोरी सुधार गर्नुपर्ने समाधानका उपायहरु , उत्पादक किसानले कृषि उपजको उचित मूल्य नपाएको गुनासो , समाधानका उपायहरु , कृषि बजारका समस्याहरु ,समाधानका उपायहरु , कृषि उपज उत्पादकले उचित मूल्य नपाउने कारण र समस्याहरु तथा ती समस्याको समाधानका उपायहरुका बारेमा छलफल गरिएको समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए ।कृषि अर्थविज्ञ शालिकराम भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको क्षेत्रभित्र परेको जिल्लाका ८ पालिकाका कृषक , कृषि बजारका व्यवसायी र उपभोक्ताका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले उत्पादन बृद्धिका लागि प्रयोग गरिने विषादीको नियमन गर्न ल्यावको सुदृढीकरणमा जोड दिए । उनले कृषि बजारमा निर्मित कोल्डस्टोरलाई बढीभन्दा बढी सदुपयोग गरिनुपर्ने बताए । समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का कार्यवाहक वडाध्यक्ष दुर्गा शिवाकोटी , राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष मदनगोपाल सुब्बा, उपभोक्ता हित संरक्षण मंच बिर्तामोडका अध्यक्ष ओमभक्त सेढाई, विषादी परीक्षण प्रयोगशालाकी कर्मचारी रचना कार्कीलगायतको उपस्थिति रहेको थियो । समितिकी सदस्य विन्दा लुईटेलले स्वागत गरेको कार्यक्रमको संचालन व्यवस्थापक सीताराम नेपालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्