झापा,मंसिर १२ । जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ । अहिले त्यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । ४२ जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए । पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिसहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूणर्रूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ । कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए । ७ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूणर्रूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्