झापा, मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा आएर कार्वाहीमा परेका कुमार भट्टराईसहितका नेताहरु राप्रपामै फर्किएका छन् ।

कार्वाहीमा परेर पार्टीविहीन भएका उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै राजनीतिक थलोमा समेटेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भट्टराई राप्रपाको मेची अंचल संयोजक रहँदा उनी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा गएका थिए । कांग्रेसले उनलाई पार्टीको प्रदेश सदस्यको जिम्मेवारी दिएको थियो ।तर, उनले टिकट नपाएपछि गत वर्षको मंसिर ४ को निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । झापा क्षेत्र नं २ को उम्मेदवार बनेर बागी निर्वाचन लडेपछि उनलाई पार्टीले निष्काशनको कार्वाही गरेको थियो ।

त्यस्तै राप्रपाबाटै आएका नेपाली कांग्रेस बिर्तामोड ४ का उपसभापति लक्ष्मी गौतमलाई पनि पार्टीले कार्वाही गरेको थियो । गौतम पनि राप्रपामै फर्किएका छन् । त्यस्तै राप्रपा छोडेर कांग्रेस हल्दिवारीको पूर्व वडा सभापति बनेका शिव कट्वाल पनि राप्रपामै फर्किएका छन् भने पार्टी कार्वाहीमा परेका कांग्रेस बिर्तामोड ४ का पूर्व वडा सभापति राजकुमार प्रसाई पनि राप्रपामा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष लिङ्देनको हल्दिवारीस्थित घरमा भएको कार्यक्रममा बिर्तामोड २ का टंक थपलिया, ,भुवन रिजाल ,अमृत कार्की ,चन्द्रप्रसाद खरेल, रमेश थापा मगर, पुष्कर भट्टराई,सुकरसिंह राजवंशी , खडक राजवंशी,केशव राजवंशी, कृष्ण ढकाल र नन्दबहादुर कटवाल पनि राप्रपामा प्रवेश गरेका छन्।उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता दिएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्