बिर्तामोड , मंसिर २३ । आफ्ना बुवाआमाले निर्वाह गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइराख्नका लागि शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् ।

‘हाम्रा अनुभूतिहरु’ नामक संस्मरण कृतिको आज बिर्तामोडमा सामूहिक लोकार्पण गरिएको छ । बिर्तामोड ५ स्थित जेष्ठ नागरिक भवनमा आयोजित लोकार्पण कार्यक्रममा दिवंगत आफ्ना बुवाआमाप्रति श्रद्धाका भावहरू व्यक्त गर्दै तयार गरिएको सो कृति स्मरणीय र पूज्यनीय रहेको सहभागी वक्ताहरुले बताएका छन् । १३६ पृष्ठको सो कृतिमा मोहन ओलीका हजुरबुवाका बुवा लप्टन रामचन्द्र ओली ,हजुरबुवा लप्टन हरिप्रसाद ओली , बुवा विनोदकुमार ओली , आमाहरु भद्रशीला ओली र खीनाकुमारी ओलीलाई मुख्य पात्रको रुपमा चित्रित गरिएको छ । उनीहरुकै जीवनी, योगदान र भोगाईलाई कृतिमा उतारिएको छ ।

कृतिमा आठराईका ओली वंशका शीर्षव्यक्तित्व रामचन्द्र ओली, लप्टन हरिप्रसाद ओली एक व्यक्तित्व र चिनारी, म, मेरी आमा र उनका अनुभूतिहरू, आमा भद्रशीला ओलीको सम्झनामा, मेरी आमा, बुबा र आमाप्रति श्रद्धासुमन, पौरखी आमा ! परिश्रमी आमा ! मेरी आमा त भगवान नै हो , आमासँग बिताएका मिठा क्षणहरू, ममताकी प्रतिमूर्ति ,सानोआमासंगको मेरो साक्षात्कार, भोगाइ र श्रद्धासुमन, बैकुण्ठवासी बुबा विनोदकुमारप्रति हार्दिक श्रद्धासुमन, शिक्षासेवी–काइला बा , हजुरबुवा हजुरआमालाई सम्झँदा, त्यो बाइ–बाइ नै अन्तिम रहेछ , बुबा ! भावपूर्ण श्रद्धाञ्जली , विनोद ओलीः अनौठो परमपदप्राप्ति शीर्षकमा विभिन्न लेखकहरुले संस्मरण लेखेका छन् ।

ओली वंश समन्वय समितिका संरक्षक सरोजकुमार ओलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, संविधानसभा सदस्य भक्त खपांगी , पूर्व सांसद हरिचरण शिवाकोटी , बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी ,नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, ओली वंश केन्द्रीय समन्वय समितिका अध्यक्ष उमेशचन्द्र ओली ,रुद्र– गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली , वरिष्ठ साहित्यकार तथा वनिता पत्रिकाकी सम्पादक लक्ष्मी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्र –विनोद– खीनाप्रति समर्पित हाम्रा अनुभूतिहरु संस्मरण कृतिमाथि हरिनारायण भट्टराईले समीक्षा गरेका थिए भने स्वागत मन्तव्य राख्दै सम्पादक मोहनप्रसाद ओलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन मुना काफ्ले पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्