विराटनगर, मंसिर २५ । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५ः४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।

विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बाँया तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । ‘उपभोग्य खाद्यबस्तु खरिदको लागि जोगवनी गएको थिएँ । साँझमा घर फर्किदै थिएँ । जोगवनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगर जाँदै थिएँ । त्यही बिचमा ६ जना केटाहरुसँग भेट भयो । केहीबेर भनाभन भयो र ममाथि गोली हानिदिए,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने । कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेट जस्तो देखिएको बताए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि विरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौं । घटनाका बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।