झापा,मंसिर २९ । सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ । पछिल्लो समय सूर्योदय नगरपालिका विभिन्न देशका राजदूतको समेत गन्तव्य बनेको छ । मंसिर महिनामा मात्र तीन देशका राजदूतले नगरको भ्रमण गरी थप सहकार्यमा काम गर्न चासो राखेका छन् । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, नेपालका लागि स्विस राजदूत डेनियल म्युली र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सूर्योदयको भ्रमण गरे । उक्त अवसरमा स्विस राजदूत डेनियल म्युलीले स्विस सरकारको साझेदारीमा सञ्चालित साना सिँचाइ आयोजनाको उद्घाटन गरे । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापान सरकारको सहयोगमा निर्माण गरिएको बर्थिङ सेन्टरको उद्घाटन गरे । सूर्योदय नगरपालिका आर्थिक विकास तर्फ देशकै उत्कृष्ट नगरपालिका हो । यो नगरपालिका बालमैत्री र पर्यटकीय नगरी समेत घोषणा भैसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्