शिवसताक्षी, मंसिर २९ । शिवसताक्षी नगरपालिकाको घरजग्गा किर्ते प्रकरणको छानविनका लागि कार्यपालिकाबाट गठित समितिले प्रतिवेदन बुझाएको छ । 

कार्यपालिकाको शुक्रबारको बैठकमा छानविन समितिका संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले नगर प्रमुख मेघाहाङ थोप्रालाई प्रतिवेदन बुझाएका हुन् ।

सो समितिमा कार्यपालिका सदस्य कुमार राई र ईन्जिनियर उत्तम बराल सदस्य छन् । ‘लामो समयको अध्ययन, अनुसन्धान र संदिग्ध व्यक्तिहरुको बयानका आधारमा प्रतिवेदन तयार पारेर नगर प्रमुखमार्फत शुक्रबारको कार्यपालिकाको बैठकमा बुझाइएको छ,’ छानविन समितिका संयोजक फेउदिनले भने,‘अब बस्ने कार्यपालिकाको बैठकमा प्रतिवेदन सार्वजनिक गरिने नगर प्रमुखले हामीलाई जानकारी दिनुभयो ।’

नगरको घर नक्सा शाखाको बेथिती छानविनका लागि समिति गठन भएपछि पीडितले सो शाखामा लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा पीडित र आरोप लगाइएका कर्मचारीसंग समितिले लिखित र मौखिक बयान लिएको थियो । प्रतिवेदनमा जोडिएका कर्मचारीको नाम, पद र संख्या उनले उल्लेख गर्न चाहेनन् । कार्यपालिकाको जेठ ७ गतेको बोर्ड बैठकले छानविन समिति गठन गरेको थियो । सो समितिले जेठ ८ देखि काम सुरु गरेको थियो । झन्डै ६ महिनापछि तयार भएको प्रतिवेदनमार्फत जो कोही दोषी छन् ,उनीहरुलाई कानुनी कार्वाहीका लागि कार्यपालिकामा सिफारिस गरिएको समितिले जनाएको छ । दोषीउपर कार्वाही हुने, नहुने विषयमा आफू समितिको संयोजक भएको हैसियतले त्यस विषयमा अनविज्ञ रहेको संयोजक फेउदिनले बताए । उनले भने, ‘कार्यपालिकामा छलफल हुन सक्छ । त्यसपछि भनौला ।’

सामाजिक संजाललगायत संचारमाध्यममा शिवसताक्षी नगरपालिकाको घर नक्सा शाखामा भएको अनियमितताको घटना बाहिरिएपछि दोषीलाई कार्वाही हुनुपर्ने माग चुलिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, रास्वपालगायतका राजनीतिक दलले दोषीउपर कार्वाही गर्न कार्यपालिकाले खुट्टा कमाउन नहुने बताएका छन् । नेपाली कांग्रेसका नेता पर्शुराम ढुँगानाले घटनासंग जोडिएका जो कोही भएपनि कार्वाही गरेर भ्रष्टाचारमुक्त नगर बनाउन नगर प्रमुखलाई अनुरोध गरे । ढुंगाना ०७४ र ०७९ को स्थानीय तहको निर्वाचनमा शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

नेकपा माओवादीका महेन्द्र भट्टराईले भ्रष्टाचारमुक्त नगर बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताए । उनले भने,‘ यो प्रकरणमा जोडिएका जो होस् नगरबासीले कार्वाही भएको सुन्न र हेर्न चाहेका छन् ।’ त्यसकारण भ्रष्टाचारका विषयमा कसैसंग कम्प्रमाईज नगर्न कार्यपालिकालाई उनले अनुरोध गरेका छन् ।

यस्तै संचारमाध्यममा प्रतिक्रिया दिँदै रास्वपाका नगर अध्यक्ष तुलसी खनालले दोषीलाई बचाएर जनतालाई दुःख दिने काम गरिए रास्वपा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले भने,‘यो घटनालाई हाम्रो पार्टीले नजिकबाट नियालेको छ । प्रतिवेदन आउँछ कि आउँदैन भन्नेमा हामीलाई शंका थियो । अब, समितिले प्रतिवेदन बुझाएपछि सबैले देख्ने र सुन्नेगरी वाचन गरेर दोषी देखिएका जो कोहीलाई पनि कार्वाही गरिनुपर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्