दमक, मंसिर ३० । दमकका पत्रकार विष्णु सुब्बा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन ) द्वारा सम्मानित भएका छन् ।


प्याव्सन दमकले शनिवार नगरस्तरीय सांस्कृतिक कार्यक्रमका बीच सुब्बालाई प्याव्सनको क्षेत्रमा कलम चलाएवापत नगद,सम्मानपत्रसहित सम्मान गरेको हो । दुई दशकबढी समयदेखि दमकलाई कार्यथलो बनाई पत्रकारितामा क्रियाशील सुब्बा पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य तथा प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक हुन् ।
उनीसहित प्याव्सनले दमकको शैक्षिक क्षेत्रमा योगदान पुर्याएवापत प्याव्सन दमकका संस्थापक डिल्ली चापागाईलाई समेत सम्मान गरेको प्याव्सन दमकका उपाध्यक्ष मित्र खत्रीले बताए ।

उनीहरुलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, दमक ९ का वडा अध्यक्ष तथा शिक्षा संयोजक कुवेर भट्टराई ,प्याव्सनका प्रदेश सचिव कोषराज प्याकुरेल, सल्लाहकार एलडी राईलगायतले सम्मान प्रदान गरे ।
दमकको पशुहाटस्थित मैदानमा शनिवारसम्म चलेकोे सांस्कृतिक कार्यक्रममा दमकका दुई दर्जनबढी विद्यालयवीच शुक्रवार १२ वर्षमुनिका गायन,कक्षा १० सम्मको गायन,कक्षा १०देखि १२ कक्षासम्मको गायन प्रतियोगिता सम्पन्न गरी विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्याव्सन नगर सचिव नविन योगीले बताए । कार्यक्रममा शनिवार भने प्रतियोगिताअन्तर्गतकै आधुनिक नृत्य,सांस्कृतिक नृत्य प्रतियोगिता भएको थियो ।

प्याव्सन दमकका अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक संयोजक छत्र कार्की, इष्टु झापाका अध्यक्ष होमराज खतिवडा ,प्याव्सन प्रदेश सल्लाहकार एलडी राईलगायतले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्