हल्दिवारी , पुष २ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दिवारी २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् ।

पुष १० गतेसम्म संचालन हुने विराट धनधान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सोमवार एक कार्यक्रमका बिच सभामुख घिमिरेले उद्घाटन गरेका हुन् । उनी आजै राजधानीबाट झापा आइपुगेका हुन् । नेपालका केही कानुन व्यवसायीका कारण विकास निर्माणमा असर परेको आरोप लगाउँदै उनले देश आर्थिक संकटमा परेको बताए ।

झापा क्षेत्र नं २ का सांसदसमेत रहेका घिमिरेले सांसद विकास कोष रोकिएकोले सांसदले आफ्नो क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न नसकेको समस्या सुनाए । उनले हल्दिवारी र बिर्तामोडको सीमा क्षेत्रमा रहेको सो ठाउँको समस्याका विषयमा आफू जानकार रहेको भएपनि सरकारको उदासिनताका कारण सोचेअनुसारको विकास हुन नसकेको बताउँदै आगामी दिनमा विभिन्न स्रोतमार्फत भएपनि जनअपेक्षा अनुसारको काम गर्ने दाबी गरे ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्की ,बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाईं ,हल्दिवारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मन्दिर ब्यबस्थापन समिति अध्यक्ष खिलेश्वर दाहालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य पुण्य लम्सालले गरेका थिए । कार्यक्रमको संचालन सरोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्