झापा,पुष ३ । कानुनी मापदण्डविपरीत अस्पतालको क्षमता वृद्धि गर्ने अनुमति दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । विराटनगर अस्पताल चोकमा ५० श-याको अस्पतालको स्तरोन्नति गरेर १०० श-या बनाउन अनुमति दिँदा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अख्तियारले अनुसन्धान गर्न थालेको हो  । कोशी अस्पतालनजिकै केही वर्षअगाडिदेखि ५० श-यामा सञ्चालन हुँदै आएको गोल्डेन अस्पताल स्थापनादेखि विवादमा पर्दै आएको थियो । सुरुवातमा पनि मापदण्डविपरीत अनुमति लिएर अस्पताल चलाएको भन्ने विवाद कायम रहेकै बेला दोब्बर क्षमतामा स्तरोन्नति गर्न प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षअगाडि अनुमति दिएको पाइएको हो । साँघुरो संरचना भएको भाडाको घरमा अस्पताल चलिरहेकोमा अनुमति लिने बेलामा गोल्डेनले आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । पुरानै भवनमा श-या थप गरेर अस्पताल सञ्चालन गरेपछि विवाद बाहिरिएको हो । नयाँ भवनमा एक सय श-याको अस्पताल चलाउने प्रतिबद्धतासहित पूर्वाधार अभाव हुँदाहुँदै पनि मन्त्रालयले श-या थप गर्ने अनुमति दिएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवको मन्त्रीस्तरीय निणर्यबाट उक्त अस्पताललाई स्तरोन्नति अनुमति दिँदा मन्त्रालयका कर्मचारीले विरोध जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्