झापा,पुष ९ । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गएराति आगलागी भएको छ ।

आगलागीमा परी तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा ४० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । झापा–६ स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईको संयुक्त लगानीमा सञ्चालित राइजिङ कृषि फर्ममा आइतबार मध्यराति १२ बजे लागेको आगो अढाई घण्टापछि नियन्त्रणमा आएको थियो ।शिवसताक्षी र बिर्तामोड नगरपालिकाको दमकल, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

आगलागीबाट सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेराले बनाइएको कुखुरा फर्म जलेर पूर्ण रुपमा नष्ट भएको छ । कृषि बिमासमेत नभएको कुखुरा फर्ममा आगलागी हुँदा किसानहरू पीडामा छन् ।‘मध्यरात हुँदा कुखुरा फर्ममा आगलागी भएको थाहा नै पाइनँ, कुखुराहरू कराउन थालेपछि बाहिर निस्किएर हेर्दा फर्म जलिरहेको थियो’ स्थानीय प्रकाश राईले भने । विद्युत् सर्ट भएर आगो नलागेको र यो घटना कसैले जानीबुझी गराएको हुन सक्ने फर्मका सञ्चालक खेम राईको दाबी छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै गौरीगञ्ज १ बस्ने सूर्य सन्तोषी के.सी.को १ बिगाह १६ कठ्ठाको धानको कुन्यू जलेर नष्ट भएको छ । सोमवार दिउँसो १.३० बजेतिर धानको कुन्यूनजिकै रहेको धानको परालको झ्यासमा आगो लगाईएकोमा अचानक धानको कन्यूमा सल्किन गई आगलागी भएको थियो । धान पूर्ण रुपमा जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी प्रहरी,शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा दिउँसो ३.४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्