झापा,पुष १० । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् । अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनकाअनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुमपश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय ३० घर निर्माण सम्पन्न भइसकेका छन् । पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि रु दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए । त्यसमध्ये रु एक अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ । स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने रु ५८ करोड ७८ लाख रकम पठाइसकिएको उनले बताए ।अहिलेसम्म जाजरकोटमा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ गरी कुल ६७ हजार सात सय ८३ लाभग्राही कायम भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्