झापा , पुष ११ । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको अवसरमा जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो।


राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो। वि.सं. २०५१ साल पुष ११ गते नेकपा एमाले नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ।

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। एक सयबाट सुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार पुर्याएको छ।
तत्कालीन भरतमोहन अर्थमन्त्री अधिकारीले २०५१–५२ को बजेटमा सुरु गर्दा मासिक बृद्धभत्ता सय रुपैयाँ थियो। २०६० सालमा अधिकारीले बृद्धभत्ता बृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए। २०६५ सालमा बाबुराम भट्टराईले भत्तामा भारी बृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्याए।

२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डाक्टर रामशरण महतले एक हजार पुर्याएका थिए। अर्को वर्ष २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ बृद्धि गरि मासिक दुई हजार पुर्याए।

उक्त रकमलाई २०७६ सालमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा अर्थमन्त्री हुँदा भत्ता तीन हजार बनाएका थिए। आर्थिक वर्ष २०७८ मा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएर ४ हजार पुर्याएका थिए। त्यसपछिको सरकारले भने भत्ता बढाएको छैन।

विश्वमा भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिन्छ। विश्वमा प्रत्येक सेकेण्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्ने तथ्यांक छ। अहिले विश्वमा ९० करोडको हाराहारीमा ज्येष्ठ नागरिक रहेका छन्।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धीपाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिकसम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्