झापा,पुष ११ । स्थानीय तहको पुनसंरचनासँगै अधिकार सम्पन्न भएका स्थानीय तहले अध्ययन तथा आवश्यकता पहिचानबिनै ‘हेभी ईक्युपमेन्ट’ खरिद गरे । भौतिक पूर्वाधार विकासमा ‘कायापलट गर्ने’ उद्देश्य राखेर स्थानीय तहले करोडौँ रकमको उपकरण खरिद गरेका थिए । तर, ५ वर्ष नपुग्दै अधिकांश हेभी ईक्युपमेन्ट कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । कतिपय उपकरण स्थानीय तहले निर्माण गर्नै नसक्ने गरी बिग्रिएको पाइएको छ । लहडका भरमा करोडौँ खर्चिएर खरिद गरिएका उपकरण अहिले कवाडीमा परिणत हुन थालेका छन् । उपकरण व्यवस्थापन र सञ्चालनका लागि नियुक्त गरिएका कर्मचारीलाई बिना काम तलब दिनुपर्दा थप आर्थिक भार बहन गर्नु परेको छ ।त्यतिबेला उपकरण खरिदमा स्थानीय तहमा ठुलो कमिसनको चलखेल भएको आरोप लागेको थियो । खरिदमा होडबाजी भएका कारण पनि त्यस्तो आरोप लागेको हो । आवश्यकता र प्रभावकारिता मूल्याङ्कन नगरी खरिद गरिएका यस्ता उपकरण अहिले बेवारिसे बन्दै गएका छन् ।आर्थिक मन्दीका कारण विकास निर्माणमा पर्याप्त बजेट विनियोजन नहुँदा सोचेअनुरूप भौतिक पूर्वाधारको काम भएको छैन । स्थानीय तहका निर्माण उपकरण कतै थन्किएका छन् भने कतै बिग्रिएर मर्मत गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।झापाको अर्जुनधारा नगरपालिकाले रोलर, टिपर, ग्रेडर, पानी ट्याङ्की, जेसीबी, मिनी टिपर र दुई वटा ट्याक्टर खरिद गरेको थियो । नगरले ‘सवारी साधन सञ्चालन कानुन’ बनाएर नगरपालिकाभित्र भाडामा समेत दिइरहेका ती उपकरण सञ्चालनमा ठुलो आर्थिक भार बहन गर्नु परिरहेको छ ।नगरपालिकाले महत्वकांछी प्रोजेक्टका रुपमा ग्रेडर खरिद गरेको थियो । विकास निर्माणमा कायापलट गर्ने तथा नगरपालिकाभित्र हुने पूर्वाधार विकासलाई सहज बनाउने उद्देश्यका साथ खरिद गरिएको ग्रेडर विगत १० महिनादेखि नगरपालिकाको ग्यारेजमा थन्किएको छ ।इन्जिनमा समस्या उत्पन्न भएको सो ग्रेडर मर्मतका लागि १८ देखि २५ लाख रुपैयाँसम्म खर्च आउने हुँदा नगरपालिकाले मर्मतका लागि चासो देखाएको छैन । अझ नगरले ग्रेडर सञ्चालनमा आउने नदेखेपछि त्यसका अपरेटरलाई जागिरबाट बिदा दिएको छ ।अरू उपकरण सञ्चालन भइरहेका भए पनि क्षमता बमोजिमको ‘जब’ पाउन सकेका छैनन् । पूर्वाधार निर्माणको सुस्तताका कारण उपकरण र त्यसका कर्मचारी अहिले फुर्सदमा छन् । उपकरण ग्यारेजमा थन्क्याए पनि कर्मचारीलाई तलब दिइरहेको छ । ट्याक्टर भने फोहोर व्यवस्थापनमा प्रयोग भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्