झापा, पुष ११ । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीले एक वर्षका अवसरमा घोषणा गरेका सबै काम राम्रो नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा मंगलवार देशवासीका नाममा संबोधन गर्दै केही महत्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गरेका थिए ।करिव एक घण्टा लामो देशबासीका नाममा प्रधानमन्त्री दाहालले गरेको संबोधनप्रति टिप्पणी गर्दै पूर्व अर्थमन्त्री पाण्डेले एक वर्षमा भएका काम सबै राम्रो नभएको बताएका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा बुधवार बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले भने,‘ प्रधानमन्त्रीले ५२–५४ मिनेट देशबासीलाई संबोधन गर्दै भाषण गर्नु भयो ।उहाँले भनेजस्तो सबै काम राम्रो भएको छैन ।’एक–दुई वटा मात्र राम्रो काम भएको उनले टिप्पणी गरे ।

प्रधानमन्त्रीले १७ खर्ब विदेशी मुद्रा संचिति रहेको र त्यसबाट करिव एक वर्ष आयात गर्न पुग्ने बताएकोमा पूर्व अर्थमन्त्री पाण्डेले पुँजीगत खर्च कम भएर संचिति बढेको दावी गरे । उनले एक वर्षमा पर्यटन व्यवसाय फस्टाउनु र जलविद्युत विस्तार गरिनु राम्रो काम भएको प्रतिक्रिया दिए ।तर, उनले ७ प्रतिशत व्याजमा ऋण लिएर सरकारले तलब खुवाउनु राम्रो काम नभएको भन्दै ट्रेजरी माइनस नेपालको लागि खतरनाक भएको बताए ।

२०५५ सालदेखि नेपालमा ट्रेजरी माइनस हुँदै आएको छ । पाण्डेका अनुसार यस वर्ष पनि राजश्व घटेको छ । नेपालमा जुनसुकै सरकारलाई कर्मचारीतन्त्रले काम गर्न नदिएको भन्दै ‘ब्युरोकेसी रिफर्म’नभएसम्म नेपालमा प्रगति हुन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्