गौरीगञ्ज , पुष ११ । झापा क्षेत्र नम्बर ४ (१)का प्रदेश सांसद राधाकृष्ण खनालले बुधबार एक कार्यक्रमका बीच विपन्नका लागि सरकारले निर्माण गरेर प्रदान गर्ने जनता आवास कार्यक्रमका घरको शिलान्यास गरेका छन्।

गौरीगञ्ज गाउँपालिका वडा नं ५ को बगाहा चौधरी टोल दक्षिण हेमनाडाँगीमा निर्माण हुने पाँचवटा घरको सांसद खनालले शिलान्यास गरेका हुन्। प्रदेश सांसद खनालले सिफारिस गरेका ती घर भूकम्प प्रतिरोधी हुने बताइएको छ।
अति विपन्न, सीमान्तकृत, मुस्लिम, दलित, पिछडिएका समुदायलाई लक्षित गरेर सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको छ। सांसद खनालका अनुसार एउटा घर बराबर सरकारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्ने छ ।

दुईवटा कोठा, बरण्डा र रङ्गीन जस्ता पाताले छाउने उक्त घर निर्माण गर्दा लाभग्राहीले १० प्रतिशत वा सुविधायुक्त शौचालय निर्माण गर्नुपर्ने प्रावधान छ। सांसद खनालले यसअघि शिवशताक्षी नगरपालिका वडा नम्बर ४ को बोलोचोक आसपास क्षेत्रमा पनि पाँचवटा घरको शिलान्यास गरेका थिए । यी दुईवटै कार्यक्रमका लागि सरकारले ३५ लाख रुपैयाँ खर्चेको छ ।

सांसद खनालले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विपन्न आवास, पूर्वाधार निर्माण, ग्रामीण विद्युत विस्तार,तटबन्ध र विभिन्न जातजाति भाषा धर्म र साहित्य उत्थानका लागि परियोजना सञ्चालन गरिरहेका छन्।

गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष किनालाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पूजन न्यौपाने कुँवर, गौरीगञ्ज गाउँ कार्यपालिकाका सदस्य र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्