झापा, पुष १५ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहान तमु ल्होसारको शुभकामना सन्देश जारी गरे। गुरुङ समुदायले मनाउने तमु ल्होसारको शुभकामना सन्देश जारी गर्दा मुख्यमन्त्री कार्कीले ‘लेटर हेडमा’ कोशी प्रदेश लेख्न छुटाएका थिए। संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले प्रदेशको नाम लेख्न बिर्सिएपछि उनी आलोचनाको शिकार भइरहेका छन्।

मुख्यमन्त्रीले कोशी प्रदेशको नाम उल्लेख नगरेपछि यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस विषयमा अनेकन अड्कलबाजी गर्दै विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।

कतिपयले पूर्वी नेपालमा पहिचान पक्षधरको आन्दोलन जारी रहेको बेला उनीहरूको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुनसक्ने अनुमान गरेका छन्। कतिपयले भने मुख्यमन्त्रीको गम्भीर लापरबाही भनेका छन्। मुख्यमन्त्री कार्कीले आफ्नोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गर्न योगदान गरेका थिए। तर, मुख्यमन्त्री बनेपछि भने उनले नियतबस यसो गरेको कतिपयको आक्षेप छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी मुख्यमन्त्री कार्कीले प्रदेशवासीको नाममा स्पष्टीकरण जारी गर्नुपर्ने बताउँछन्। ‘जानेर हो या भूलबस हो, यो त गम्भीर त्रुटी हो,’उनले भने, ‘उहाँ आजै प्रतिपक्षी दल र प्रदेशवासीलाई स्पष्ट पार्नुपर्छ।’

गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा वक्तव्यमार्फत जारी गरिएको शुभकामना सन्देशमा उनले नेपाल बहुधार्मिक एवम् बहुसाँस्कृतिक मुलुक भएको बताउँदै तमु ल्होसारले आम नेपालीबीच भ्रातृत्व र एकताको भावना बढाउने विश्वास पनि व्यक्त गरेका छन्।

तर, उनले शुभकामना व्यक्त गरेको मुख्यमन्त्रीको लेटरहेडमा भने प्रदेशको नाम उल्लेख गरिएको थिएन। लेटरहेडको दाइनेतिर ‘मुख्यमन्त्री’ लेखेर स्वस्तिक छापको चिह्न राखिएको थियो भने देब्रेतिर ‘विराटनगर नेपाल’लेखिएको थियो। शुभकामनाको व्यहोरा लेखेर अन्तिमतिर मुख्यमन्त्रीको नाम र हस्ताक्षर छ। यसरी प्रदेशको नाम उल्लेखै नगरी शुभकामना दिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो। सबैतिर विरोध र टीका–टिप्पणी हुन थालेपछि मुख्यमन्त्री कार्कीको सचिवालयले सच्याएर पुनः शुभकामना सन्देश जारी गरेको छ।

‘तमु ल्होसारको अवसरमा माननीय मुख्यमन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देशमा कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको छ’ भन्दै मुख्यमन्त्री कार्यालयले फेरि प्रदेशको नाम राखेर सन्देश जारी गरेको छ।
गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि असन्तुष्ट पक्षले यस विषयलाई लिएर आन्दोलन जारी राखेको छ। आन्दोलनका क्रममा घाइते भएका पदमबहादुर लिम्बू लाजेहाङको गत चैत १० गते मृत्यु भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्