झापा , पुष १५ । कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशबाट ६३ जनाको नाम केद्रीय समितिसमक्ष सिफारिस गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा नयाँ अनुहारलाई प्राथमिकता दिन दबाब बढिरहेका बेला प्रदेश समितिले पटक–पटक सत्तामा पुगेका र गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौला र सुजता कोइरालाको नाम पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको हो ।

प्रदेश समितिले उनीहरूको नाम मर्यादा र पार्टीमा रहेको भूमिकालाई आधार मान्दै पहिलो प्राथमिकतामा राखेको बताएको छ । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सिटौला गएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

त्यसैगरी कोइराला मोरङ क्षेत्र नम्बर २ बाट एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् । त्यसैगरी गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएका महेश आचार्य र मिनेन्द्र रिजालको नाम पनि दोस्रो प्राथमिकतामा सिफारिस गरेको छ । आचार्यको साविक क्षेत्र नम्बर ५मा गठबन्धनमा माओवादी केन्द्रका अमनलाल मोदीले टिकट पाएपछि आचार्य चुनावी मैदानबाट बाहिरिएका थिए भने क्षेत्र नम्बर २ मा सुजताले टिकट पाएपछि अघिल्लो निर्वाचनमा विजयी रिजाल चुनावी मैदानवाट बाहिरिएका थिए ।

प्रदेश समितिले पुरुष खस आर्य र अन्यतर्फ सिटौलालाई पहिलो नम्बरमा राखेर ३८ जना र महिला खस आर्यतर्फ कोइरालालाई पहिलो नम्बरमा राखेर २५ जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी समितिले विराटनगरका चार उद्योगी व्यवसायीको नाम पनि राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस गरेको छ । समितिका अनुसार पवनकुमार सारडा, महेश जाजु, हसन अन्सारी र फूलकुमार लालवानीको नाम सिफारिस गरिएको छ । सारडा संविधान सभा सदस्य हुन् भने जाजु यसअघि राष्ट्रिय सभा सदस्यका उम्मेदवार थिए ।

प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाबाट मात्र नाम सिफारिस गरेको समितिका महामन्त्री भुपेन्द्र राईको भनाइ छ । उनका अनुसार तेह्रथुम, खोटाङ, पाँचथर, ताप्लेजुङ र इलामवाट कसैको पनि नाम सिफारिस भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्