झापा,पुष १६ । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट आउजाउ गरिरहेका थिए । सोहीमध्येको हात्ती मृत फेला परेको हो । बस्तीतर्फ हात्ती आउन थालेपछि स्थानीय त्रसित हुने गरेका थिए ।

सुन्दरहरैंचा नगरपालिका १० स्थित जनजागरण सामुदायिक वनमा दशदेखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो । सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयको दाबी छ । तर, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले आफूहरु घटनास्थलमा रहेको यसबारे अनुसन्धान थालिएको बताए । उनले भने, ‘घटनास्थलमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सक आइसक्नु भएको छ । पोस्टमार्टम गरेपछि मात्र गोली लागे नलागेको थाहा हुनेछ ।’

मृत भेटिएको भाले हात्तीको शरिरमा गोली लागेर रगत बगेको डाम रहेको सवडिभिजन वन कार्यालय, सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले बताए । ‘घाटीदेखि मुनिको भागमा गोली लागेजस्तो दाग देखिएको छ,’ उनले भने, ‘विशेषज्ञ टोली आएर अनुसन्धान गरेपछि मृत्युको कारण खुल्नेछ ।’

हात्ती शिकारीले मारेको बुझिएको छ । मृत भेटिएको हात्तीको पुच्छर छैन । हात्ती मारेपछि पुच्छर शिकारी समूहले लगेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्