झापा, पुष २२ । अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आज आयोजित एक कार्यक्रममा आफ्नो बिगतको संघर्ष नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् ।

अनेमसंघ झापाले जिल्लामा नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका अगुवालाई आफ्नो क्रान्तिकारी बिगत सुनाउन एउटै मञ्चमा पहिलोपल्ट उभ्याएको थियो ।
अर्जुनधाराको सालबाडीस्थित सुखानी स्मृति पार्कमा भएको उक्त कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले मुख्य वक्ता थिइन् । उनले भूमिगत कालमा पार्टी राजनीतिलाई जनताको माझमा लोकप्रिय बनाउन महिला नेतृहरुले पनि पुरुषहरुले झैं कठिन परिस्थितिको सामना गरेको अनुभूति सुनाइन् ।

उनले बिगतमा अनेमसंघको नेता र त्यसमा आवद्ध कार्यकर्ताहरु व्यक्तिगत लाभ र स्वार्थभन्दा टाढा रहने गरेको इतिहासबाट अहिलेका महिला कार्यकर्ताहरुले सिक्नु पर्ने बताइन् । ज्यानको पर्वाह नगरी र परिवारको स्वार्थ समेत नहेरी पार्टी र क्रान्तिका लागि बिगतमा पुर्याएको योगदान कहिल्यै भूल्न नहुने उनले बताइन् ।

उनले अहिले नेतृत्वमा बस्न तँछाडमछाड गर्ने तर जिम्मेवारी पाएपछि बेवास्ता गर्ने प्रवृत्ति मौलाएको गुनासो गर्दै महिला प्रतिनिधित्व र अवसर दिने बेलामा मातृ पार्टीले अनेमसंघ र इमान्दार कार्यकर्ताहरुको धारणा लिनु पर्ने सुझाव राखेकी थिइन् ।
अनेमसंघकी केन्द्रीय सदस्य टीका बस्नेत घिमिरेले अग्रजको इतिहासलाई नबिर्सन र सम्मान गर्न आग्रह गरिन् । उनले विगतमा आफूले विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा भोग्नु परेको समस्या र चुनौतीका बारेमा सुनाइन् ।
आज व्यापक कार्यकर्ता र संगठनको ठूलो सञ्जालले गर्दा अनेमसंघ आफैमा शक्तिशाली बनेको उल्लेख गर्दै उनले हिजो यो संगठनलाई झापामा विस्तार गर्दा थोरै महिलाहरुले आफ्नो जीवनको उर्वर समय खर्चिएको इतिहास सम्झाइन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य लीला कट्टेलले विगतमा आफूले भोगेको जेल जीवनको बारेमा सुनाइन् ।
२०४६ सालको जनान्दोलन सफल भएपछि खुला परिवेश आएको हुँदा राजनीति गर्न सजिलो भएको चर्चा गर्दै भूमिगत अवस्थामा महिलाहरुले प्रहरीको धरपकडबाट जोगिएर सेल्टरमा बस्नु पर्ने, आन्दोलनका मोर्चामा पुरुषसँगै सहभागी हुनुपर्ने र जेलका चिसो छिडीमा चर्को यातना सहेर क्रान्तिलाई अघि बढाउनु पर्ने कार्य अहिले कथा जस्तो लाग्ने उनको भनाइ छ ।


अनेमसंघ झापाकी पूर्व अध्यक्ष तथा प्रदेशकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले सरकार सञ्चालन गर्दा भोगेका अनुभव सुनाउँदै आफ्नो जिम्मेवारीको बारेमा जानकार भएमा पार्टीले सुम्पेको जुनसुकै भूमिका पनि सहज रुपमा सम्पादन गर्न सकिने बताइन् ।

इलाममा सानो उमेरमै कम्युनिस्ट राजनीतिमा लागेको र क्रमशः जिम्मेवारी बढ्दै जाँदा मन्त्री पदको समेत जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उनले सुनाइन् । अनेमसंघ झापाकी इञ्चार्ज सुमित्रा भण्डारीले पार्टी र संगठनलाई चलायमान बनाउन पुरानो र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताइन् । हिजो पार्टी र महिला आन्दोलनलाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्ने अग्रजलाई विभिन्न वहानामा बिर्सन नहुने उनको धारणा थियो ।

अनेमसंघ झापाकी अग्रज नेतृ लता प्रसाईले आफ्नो घरलाई तत्कालीन पार्टीका नेता कार्यकर्ताहरुले प्रमुख सेल्टर बनाएको बताइन् ।
नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र अमृत बोहोराले भूमिगत कालमा छोरीलाई हुर्काउन आफूलाई जिम्मा दिएको रोचक इतिहास उनले सुनाइन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले विगतमा जस्तो अधिकारको लागि संघर्ष गर्दा अहिले थुनिनु पर्ने र जेल जानु अवस्था नरहेको बताए ।

उनले नेकपा एमाले लोकतन्त्र, गणतन्त्र र सामाजिक परिवर्तनको बाहक रहेको उल्लेख गर्दै आधा आकाश ओगटेका महिलालाई संगठित गर्ने र राजनीतिक अभियानलाई सफल बनाउने कार्यमा अनेमसंघको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रमा अग्रज महिला नेतृ विष्णु बरालले २०३८ सालदेखि हालसम्म अनेमसंघमा रहेर बिताएको क्षणका दुःखसुखको चर्चा गर्दै अनेमसंघ तानाशाही पञ्चायती शासनविरुद्ध लडेको र नारी मुक्तिको जागरण ल्याउने गौरवशाली संगठन भएको बताइन् ।अधिवक्ता एवम् अनेमसंघ कोशीकी प्रदेश सचिव हेमकला कट्टेलले राजनीतिलाई लगानी उठाउने थलोको रुपमा नबुझ्न सबैलाई आग्रह गरिन् ।

युवा नेतृ नीता घतानीले अग्रजले देखाएको बाटोमा हिँड्न युवा पुस्ता तयार रहेको जनाउँदै पुरुषवादी समाजमा अझै पनि महिलालाई नेता नमान्ने प्रवृत्ति हावी रहेको बताइन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, चौतारीकी केन्द्रीय अनुशासन आयोगकी सदस्य सावित्रा दाहालले नेकपा एमाले र अनेमसंघले गरेका राम्रो कामको प्रचार प्रसार कम भएको बताए ।
अनेमसंघ झापाकी अध्यक्ष पवित्रा पाठकले जिल्लाबाट सुरुवात गरिएको यस्तो कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने बताइन् । उनले अनेमसंघमा आवद्ध महिलालाई संगठित गर्ने, पुरानो नेताको सम्मान गर्ने र नयाँ पुस्ताको क्षमता अभिवृद्धिमा ध्यान दिइने बताइन् । संस्थाकी सचिव लीलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रेणुका डाँगीले राखेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्