झापा , पुष २६ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटै विद्यालयमा हुँदाखाने र हुनेखाने वर्गको दुई प्रकारको शिक्षा बन्द गर्न चेतावनी दिएका छन् ।

त्यस किसिमको विभेदको शिक्षाले विकृति ल्याएको भन्दै दुई किसिमको पढाई गर्ने विद्यालयलाई प्रदेश सरकारले कुनै पनि सहयोग नगर्ने उनले चेतावनीसमेत दिए । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनी बिर्तामोडको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले एउटै प्रांगणमा अंग्रेजी र नेपाली माध्यममा पठनपाठन गराइरहेका विद्यालयहरुको तीब्र विरोध जनाएका हुन् ।‘एउटै प्रांगणमा दुई किसिमको शिक्षाले समाज विभेदमा जान्छ , समाज विद्रोहमा जान्छ ’ उनले भने, ‘ गरिव भनेर उसले अंग्रेजी माध्यममा पढ्न पाएन भने उसको मनमा विद्यालयप्रति , शिक्षकप्रति र अंग्रेजी विषयप्रति गढिरहने हुन्छ । ’

हुँदाखाने र हुनेखानेबीच समाजमा भिन्नता रहेको अबस्थामा विद्यालयको प्रांगणभित्रसमेत त्यस्तो विभेद नगर्न उनले आग्रह गरे । ‘कम्तीमा विद्यालयको प्रांगणभित्र त्यस्तो विभेद बन्द गरियोस्’ उनले भने, ‘दुईवटा शिक्षा हुन्जेल मेरो सरकारले सहयोग गर्दैन । ’ एउटै शिक्षा पढाइ गरे संविधानले नदिएपनि व्यवहारिक रुपमा आफ्नो सरकारले सहयोग गर्ने उनले आश्वासन दिए । भाषा माध्यम मात्र भएको ज्ञान नभएको उनको भनाई थियो । समाजलाई सामाजिक संजालमा लगेर विसर्जन गर्ने खालको शिक्षा नबाँड्न उनले शिक्षक शिक्षिकाहरुलाई आग्रह गरे । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्