झापा,पुष २८ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज शुरु हुँदैछ।

तीन विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी हुने प्रतियोगिताको खेल काठमाडौंको त्रिवि त्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान तथा भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन्।

यसमध्ये त्रिवि मैदानमा माघ २० गते हुने फाइनलसहित १८ वटा खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। मूलपानीमा १७ वटा र भैरहवामा ११ खेल हुने तालिका छ।

सबै टोलीले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबीच उपाधि प्रतिस्पर्धा हुनेछ। यस्तै क्यानले यो प्रतियोगिताका शीर्ष चारमा पुग्ने टोलीबीच आगामी चैत र वेशाखमा एलिट ट्रफी खेलाउने तयारी गरेको छ भने यही प्रतियोगिताबाट नेपालले पहिलो पटक ‘ए’ टोली निर्माण गर्नेसमेत तयारी छ।

बिहान ९ बजे सिद्धार्थनगर रंगशालामा हुने खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। बिहान सवा ९ बजे त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब भिड्दा सोही समयमा मूलपानी मैदानमा कोशी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

यसैबीच नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका खेल निःशुल्क हेर्न पाइने जनाएको छ। टिकटविनै रंगशालामा गएर दर्शकले खेल हेर्न पाउने क्यानले जनाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्