झापा,पुष २८ । मोरङमा जीवन विकास समाज नामक एकसंस्थाले गोबरबाट प्रांगारिक मल र बायोग्यास उत्पादन सुरु गरेको छ ।

समाजले किसानसँग गोबर किनेर बायोग्यास उत्पादन गरी सिलिन्डरमा भरेर बिक्री गरेको छ भने प्रांगारिक मल पनि उत्पादन गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० बिघा क्षेत्रमा जीवन विकास समाजले स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगको मोरङ–५ का सांसद योगेन्द्र मण्डल र प्रदेश सांसद गयानन्द मण्डलले उद्घाटन गरे ।
करिब १० करोड रुपैयाँ लागतमा स्थापित उद्योगले विराटनगर र आसपासका गाईंभैंसी फार्मबाट गोबर किन्ने गरेको छ । सांसद मण्डलले रासायनिक मललाई प्रतिस्थापनको अभियान सुरु भएको बताए ।