झापा, पुष २८ । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट–चित्लाङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।


महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो । गाडीमा सवारी ६ जनामध्ये एक जना भने हामफालेर बच्न सफल भएका छन् ।

दुर्घटनामा काठमाडौं–३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् ।

कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरु चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्