झापा,पुष २९ । भूकम्प प्रभावित जाजरकोटको कुशे गाउँपालिकाका तीन स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार बढी बिरामीले उपचार सेवा पाएका छन्।

नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत क्यानेडियन रेडक्रसको सहयोगमा कुशे गाउँपालिका–३ को टापुचौर, वडा नम्बर ६ को घरंगा र वडा नम्बर ९ को पंैकमा सञ्चालित आपतकालीन क्लिनिकमा १ हजार ४७ जना बिरामीको उपचार गरिएको हो।
कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको केही दिनअघि चिसोका कारण ज्यान गएको पछि गत आइतबारदेखि एक हप्ते आपतकालीन स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। यहाँका बासिन्दालाई सामान्य उपचारका लागि पनि हजारौं रुपैयाँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। आपतकालीन स्वास्थ्य शिविरबाट घरदैलोमै सेवा पायौ हामी एकदमै खुसी छांै स्थानीय गौरी बुढाले भनिन्, ‘भूकम्प पछि त्रिपालको बसाईले बिरामी थिएँ। डाक्टरले राम्रो सँग चेकजाँच पनि गर्नुभयो। औषधि पनि दिनुभयो। उपचारका लागि बाहिर जानुपरेन।’
घण्टौं पैदल हिँडेर उपचारका लागि बिरामीहरू शिविरमा आएका थिए। शिविरमा रुघाखोकी, टाइफाइड, निमोनिया, दम, पखाला, पाठेघर खस्ने समस्या, गर्भवती, सुत्केरी, पेटका बिरामी, मनोरोगी, छाला र आँखालगायतका समस्या लिएर बिरामीहरू आएको र उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिइन्। उनका अनुसार विर अस्पतालका डाक्टर राजन नारायण नकर्मी र डाक्टर सोभना थापासहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो।