झापा,पुष २९ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ ।

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स ) सम्बन्धमा यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरेको छ ।

आन्तरिक छानबिन समितिले तयार गरेको प्रतिवेदन सम्बन्धित ठाउँहरुमा बुझाइएको महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। विभागबाट विभिन्न समयमा वितरण भएका करिब ७० हजार लाइसेन्स नक्कली भएको आशङ्का गरिएपछि विभागले आन्तरिक छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो । विभागका आइटी शाखा प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा गठित समितिमा इन्जिनियर बोधराज बराल, शाखा अधिकृत अर्जुन अधिकारी, आइटी कन्सलटेन्ट सबिन श्रेष्ठ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) का प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहाल सदस्य रहेका थिए । छानबिन समितिले एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको भेटिएको जनाएको छ ।

छानबिनका क्रममा एक लाखभन्दा बढी लाइसेन्स डाटा तोडमोड गरेर परीक्षा र ट्रायलविनै जारी भएको भेटिएको छ । जसमध्ये ७३ हजार लाइसेन्स जारी भइसकेका छन् । २९ हजार लाइसेन्स बायोमेट्रिक लिने प्रक्रियामा छन् । यी लाइसेन्स जतिखेर पनि जारी हुनसक्ने अवस्थामा छन् । उक्त समितिले पेश गरेको प्रतिवेदनमा २०७२ साल देखि २०८० सम्म वितरण भएका करिब ५० लाख लाइसेन्सको छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

समितिका संयोजक रेग्मीले भने, “२०७२ सालदेखि २०८० सालसम्मका ५० लाख लाइसेन्स छानबिन गर्नपर्ने देखिएको छ । २०७२ सालदेखि नै लाइसेन्स वितरणमा घोटाला भएको पाइएको छ ।”उनका अनुसार विभागबाट छपाइ भइसकेको ३० हजार लाइसेन्स र थप शङ्कास्पद झण्डै ७० हजार लाइसेन्सको विवरण समावेश पनि गरेर प्रतिवेदन बुझाइएको छ । छानबिन समितिका संयोजक रेग्मीका अनुसार डाटा इन्ट्री प्रणाली ज्यादै कमजोर भएकाले नक्कली लाइसेन्स वितरण भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्